समाचार

निर्मला हत्याकाण्ड : बबिता र रोशनी बम पक्राउ, एसपीका छोरा र मेयरका भतिजा शंकाको घेरामा

महेन्द्रनगर: भदौ ९, निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका छन् । निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।

दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् । निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।

भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ । दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन । दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ । प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।

निर्मला पन्त किताब लिन जुन घरमा गइन् । त्यही घरमा दुबै बम दिदीबहिनीमात्रै बस्ने गर्दथे जुन घर दुईतल्ले छ । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन । बबिता र रोशनीका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा रोशनी (आँचल) र बबिता मात्रै बस्थे । निर्मला उक्त घरमा होमवर्क गर्न बिहान ११ बजेतिर गएकी थिइन् । स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आवत जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा र अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने जाने गर्थे ।

त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झनै रहस्यमय छन् । घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो । निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयको भनाइ छ ।

प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई सुरुमा पक्रेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *